6
1 परमप्रभुले मोशालाई भन्नुभयो,
2 “इस्राएलका मानिसहरूलाई भन् । 'जब कुनै पुरुष वा महिलाले आफूलाई परमप्रभुको निम्ति नाजिरीको विशेष भाकलले अलग गर्छ,
3 त्यसले आफूलाई दाखमद्य र कडा मद्यबाट अलग राख्नुपर्छ । त्यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन । त्यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन ।
4 त्यसले आफूलाई मेरो निम्ति अलग गरेका सबै दिनमा त्यसले दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत दाखबाट बनाइएका कुनै पनि कुरा खानुहुँदैन ।
5 अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन । त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ । त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ ।
6 त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन ।
7 आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्न सक्नेजस्तै यो त्यसले आफूलाई परमेश्वरप्रति अलग गरेको कारणले हो ।
8 त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ ।
9 यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ ।
10 त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ ।
11 पुजारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्यसको पापको प्रायश्चित्त गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्यो । त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ ।
12 त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ । त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ । त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्नुहुँदैन, किनभने त्यसले अशुद्ध पार्यो ।
13 नाजिरीको अलग हुने समय पुरा हुनेको निम्ति नाजिरीको नियम यही हो । त्यसलाई भेट हुने पालको प्रवेश-द्वारमा ल्याउनुपर्छ ।
14 त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ ।
15 त्यसले तिनीहरूका अन्नबलि र अर्घबलिसँगै एक डालो अखमिरी रोटी, तेलले मिसाएको फुरौलाहरू, तेल दलेको अखमिरी बाबरहरू ल्याउनुपर्छ ।
16 पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।
17 अखमिरी रोटीको डालोसँगै त्यसले थुमालाई बलि अर्थात् मेलबलिको रूपमा चढाउनुपर्छ । पुजारीले अन्नबलि र अर्घबलि पनि चढाउनुपर्छ ।
18 नाजिरीले आफू अलग रहेको सङ्केत गर्न भेट हुने पालको प्रवेश-द्वारमा आफ्नो शिर खौरनुपर्छ । त्यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ ।
19 पुजारीले थुमाको उमालेको कुम, अखमिरी रोटीको डालोबाट एउटा रोटी र अखमिरी बाबर लिनुपर्छ । त्यसले तिनीहरूलाई आफू अलग रेहेको सङ्केत गर्ने कपाल खौरेको नाजिरीका हातमा राख्नुपर्छ ।
20 पुजारीले तिनीहरूलाई डोलाइएको ह्याकुलो र पुजारीलाई दिइएको साप्रोसँगै पुजारीको निम्ति पवित्र हिस्सा परमप्रभुको सामु बलिको रूपमा डोलाउनुपर्छ । त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ ।
21 नाजिरीको निम्ति नियम यही हो जसले आफू अलग हुनको निम्ति परमप्रभुको निम्ति आफ्नो बलिदानको भाकल गर्छ । त्यसले अरू जे दिन पनि, त्यसले भाकल गरेका कर्तव्यहरू अर्थात् नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ ।”
22 फेरि परमप्रभुले मोशालाई बोल्नुभयो,
23 “हारून र त्यसका छोराहरूलाई भन् । 'तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ । तिमीहरूले तिनीहरूलाई यसो भन्नुपर्छ,
24 'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।
25 परमप्रभुले उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस् र तिमीहरूप्रति कृपालु हुनुभएको होस् ।
26 परमप्रभुले तिमीहरूमाथि कृपादृष्टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस् ।'
27 तिनीहरूले इस्राएलका मानिसहरूलाई मेरो नाउँ यसरी दिनुपर्छ । अनि म तिनीहरूलाई आशिष् दिनेछु ।